श्रीमतीसँग ३ मिनेट भिडिओ कल गरे, त्यसपछि सम्पर्कविहीन भए...

 श्रीमतीसँग ३ मिनेट भिडिओ कल गरे, त्यसपछि सम्पर्कविहीन भए


"८ बजेतिर भिडिओ कलमा कुरा भएको थियो, घरपरिवारका सबैको खबर सोध्नुभयो। ३ मिनेट जति कुरा भएपछि हामी आ-आफ्नो काममा लाग्यौँ," सुर्खेत पञ्चपुरी नगरपालिका–२ सालकी धनकुमारी लामिछानेले भावुक हुँदै भनिन्।


देशको सेवा गर्ने सपना बुनेर ७ वर्षअघि नेपाली सेनामा भर्ना भएका २९ वर्षीय प्रकाश भण्डारी श्री शेर गण नुवाकोटमा सिपाहीका रूपमा कार्यरत थिए। साउनमा २५ दिनको बिदा कटाएर भदौ १ गते मात्रै कार्यक्षेत्र फर्किएका प्रकाश भदौ १० गते नेपाल-चीन सीमा नजिकै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भने एकाएक बेपत्ता भएका छन्।


बा ढी आएको दिन बिहान भिडिओ कल गर्दा सैनिक पोशाकमै सजिएका प्रकाशले घरको मियो बनेर सबको ख्याल राखिरहेका थिए। तर, त्यसको केही समयपछि नै भोटेकोशीमा उर्लिएर आएको बाढीले सम्पूर्ण सञ्चार र बस्तीलाई तितरबितर बनाइदियो।


"पछि एकैपटक धेरै सैनिकहरू सम्पर्कविहीन भएको खबर सुन्दा हामी छाँगाबाट खसेजस्तै भयौँ," धनकुमारीले आँसु पुछ्दै भनिन्। ७ वर्षीया छोरी र ६ महिनाका नाबालक छोरालाई काखमा च्यापेर बसेकी धनकुमारी यतिबेला श्रीमानको एउटा सानो खबरको पर्खाइमा छिन्। गणमा पटक-पटक फोन गर्दा पनि 'खोजबिन जारी छ, केही खबर पाइएको छैन' भन्ने एउटै जवाफले उनको परिवारलाई झन् विक्षिप्त बनाएको छ।


घरका मुख्य आधार मानिएका प्रकाश कुन अवस्थामा छन्, कसैलाई थाहा छैन। "जसरी हुन्छ मेरो श्रीमानको खबर सुन्न पाउँ, जे-जस्तो अवस्थामा भए पनि एउटा स्पष्ट खबर आइदिए हुन्थ्यो," धनकुमारीको यो याचनाले यतिबेला भोटेकोशीको बाढीले छिन्नभिन्न पारेका सयौँ परिवारको साझा पीडालाई दर्शाउँछ। #news

Comments